हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री

२३ भदौ ०८०, गोर्खा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले वासु लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन् ।

शनिबार सुरेश वाग्लेले अध्यापन गराउनु भएको श्री जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४ औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउँदै त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर गरिएको प्रष्ट पारेका छन् ।

अहिले सत्य निरुपण तथा बेपत्ता सम्बन्धि बिधयेक प्रक्रियामा रहेको भन्दै पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताए ।

सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गा.वि.स ५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका थिए भने नेपालको इतिहासमा निरंकुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ताको अन्त्य गर्दै नयाँ जनवादी राज्य स्थापनाका लागि तात्कालीन माओवादीको नेतृत्वमा २०५२ फागुन १ बाट जनयुद्धमा सहभागी थिए । जनताको सर्वहावादी क्रान्तिको नेतृत्व र प्रतिनिधित्व गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारी बहन गर्न अघि बढ्ने क्रममा २०५६ भदौ २३ गते गोर्खा जिल्लाको गाँखुमा अभियानको क्रममा आत्मसर्मपण नगरेको र पार्टीको आन्तरिक कुरा नखोलेको भन्दै तत्कालीन राज्यपक्षले क्रुरतापूर्वक हत्या गरेको थियो ।