हजुर र बहिनीसँगै बस्छु, म जान्नँ ममी भन्छौ तर ब्युँझदा तिमीलाई पाउन सक्दिन : हार्दिक श्रद्धाञ्जली छोरी !

तिम्रो बा-आमा माओवादी भएकै कारणले तिमी एउटा कोपिला फूल बनेर फक्रिन नपाउँदै तिम्रा ती कोपिला अवस्था बडेमनको माओवादीको नाममा निमोठिन्छ; चर्को स्वरले आतंककारीको मृत्यु भनेर समाचार भन्नेहरु पनि तिमीले रगत बगाएको व्यवस्थामा त्यही कुर्सीमा अटाएका छन् ।

……. माफ गर छोरी ! तिमीलाई हामीले रक्षा गर्न पनि सकेनौँ । हार्दिक श्रद्धाञ्जली छोरी !

वि.सं. २०५८ हामी भिषण मोर्चामा थियौ । सबै निजी सम्पति र परिवार केही होइन भन्दै राज्यसत्ता परिवर्तनको अभियानमा थियौँ । सिन्धुलीका अन्य नेताहरुको तुलनामा हामी र हाम्रो परिवार निकै नै राज्यसत्ताको निशानामा थियौं । मैले यत्तिका वर्षहरुसम्म तिम्रो बारेमा दुई शब्द लेख्ने आँट गर्न सकेकी थिइन् । कहाँबाट र कत्ताबाट शब्द चयन गर्नेसम्म पनि मेलो पाउनसम्म सकिरहेकी थिइनँ ।

आज तिमिलाई सम्झँदै छु; दुःखका साथ भन्नुपर्छ; यत्रो बलिदानपछि प्राप्त यो सत्तामा तिम्रो कुनै पनि ठाउँमा केही स्थान छैन् । नत विद्यार्थी आन्दोलनका अगुवाहरुले तिम्रो सम्झनामा तिम्रो तस्बिर राखेर दुई थुङ्गाफुल र दुई शब्द श्रद्धाञ्जलीका शब्दहरु व्यक्त गर्छन् नत महिला मुक्तिका ठूलाठूला भाषण गर्नेहरुको लिष्टमा तिमी पर्छौ ! हिजो हामी सबैको भाषण गर्ने लिष्टमा बलिदानका चर्को स्वरहरु र बलिदानको अर्थको बारेमा व्याख्या गर्दै ती अभियानमा लामबद्ध सबैलाई पटकपटक मर्न सिकाउने अभियान्ताहरुले आज बाँचेर आएकाहरुका लागि बाँच्न सिकाउने एउटा शब्द पनि उच्चरण गर्न सक्दैनन् ।

कोही ज्वरो आएर मरेका बाउको सहिदको नाममा ‘नाम’ भजाएर पैसा लिएर बसेका छन् । यो सबै हेर्दा लाग्छ, आज सहिदको कोटामा पर्न र पार्न पनि शक्तिशाली गुटमा तिम्रा आफन्तहरु लाग्नुपर्ने बिडम्बना बनेको छ ।

बलिदान राष्ट्रका लागि भनेर लाग्नेहरुको लागि निकै नै गम्भीर र सोचनीय बिषय बनाएको छ । हिजोका ती सँगै युद्धमा लडेका एउटै रुखको छहारी मुनि, एउटा पातलो सल ओढेर एउटै सपना, आधा–आधा देख्नेहरु पनि समय सँगसँगै निजी सम्पति र परिवारभन्दा माथि उठेर निर्णय गर्ने ठाउँमा पुग्न सकिरहेका छैनन् ।

बिडम्बनापूर्वक भन्नुपर्छ बहिदहरु पनि कुन पक्ष वा गुटको हो भन्नेमा कित्ता बन्दी हुन पुगेका छौँ । सक्नेले राष्ट्रको बजेट लगेर मूर्ति बनाएका छन् । अर्को गुटको भनेपछि त्यही मूर्ति बनाउन पनि अस्वीकार गरेका छन् । कोही बिपीको डाँडो बोकेर हिँडेका छन् । कोही आन्दोलनको दौरानमा सहिदै नभएका ठाउँहरु बोकेर हिँडेका छन् ।

कोही ज्वरो आएर मरेका बाउको सहिदको नाममा ‘नाम’ भजाएर पैसा लिएर बसेका छन् । यो सबै हेर्दा लाग्छ, आज सहिदको कोटामा पर्न र पार्न पनि शक्तिशाली गुटमा तिम्रा आफन्तहरु लाग्नुपर्ने बिडम्बना बनेको छ ।

तिमीसँगै पढ्ने उमेरका तिम्रा ती दौंतरीहरु आज अफिसर बनेका छन् । तिम्रा ती बलिदानका अर्थ सिकाउनेहरुलाई फनफनी यो सत्तामा घुमाइदिएका छन् । सायद तिमी अहिले त्यही स्थानमा नभए पनि मेरो जिन्दगीको एउटा अभिन्न अंग बन्ने थियौ ।

अरु मादक पदार्थ सेवन गरी मर्दा महान् बन्छन यो देशमा । तर म को हुँ, म भोलि के बन्छु, मेरो बाटो कुन हो भनेर आफ्नो जिन्दगीको परिभाषा नबुझ्दै तिम्रा ती तोते बोलीबाट बयस्क भएको स्वर परिवर्तन हुन नपाउँदै तिम्रो बा-आमा माओवादी भएकै कारणले तिमी एउटा कोपिला फूल बनेर फक्रिन नपाउँदै तिम्रा ती कोपिला अवस्था बडेमनको माओवादीको नाममा निमोठिन्छ; चर्को स्वरले आतंककारीको मृत्यु भनेर समाचार भन्नेहरु पनि तिमीले रगत बगाएको व्यवस्थामा त्यही कुर्सीमा अटाएका छन् ।

तिम्रो त्यो सहादतले निकै नै आतंकित बनाएको थियो । धैरै छोरीहरुले अकालमा गोली खाएर मर्नु परेको थिएन । १०औं बसन्त पार गरी ११औं बसन्तमा पाइला टेकेको मात्र ४१ दिन भएको थियो । माफ गर छोरी ! तिमीलाई हामीले रक्षा गर्न सकेनौं । घर आँगनमा साथीसंगीसँग खेलिरहेको अवस्थामा तत्कालीन शाही नेपाली नामक सेनाले सबै गाउँलेलाई घरबाट बाहिर ननिस्कन आदेश दिँदै घरछेउमा गोली हानी निर्ममतापूवर्क हत्या गरेको दिन (जेठ ११ गते) मेरो काख रित्तिएको दिन । मलाई माफ गर छोरी, त्यतिबेला हामी पनि तिम्रो साथमा थिएनौँ । रक्षा गर्न पनि सकेनौँ । हार्दिक श्रद्धाञ्जली छोरी !

तिमीलाई हामीले सदासदा सम्झिरहेका छौँ । सपनीमा आएर म पनि हजुर र बहिनीसँगै बस्छु, म पनि पढ्छु, म जान्नँ ममी भनिरहँदा पनि केबल ब्युँझदा तिमीलाई पाउन सक्दिन छोरी, हार्दिक श्रद्धाञ्जली !

निरु दर्लामी
नेतृ, नेकपा

काठमाडौं टेलिभिजनडटकमबाट ।