२२ कार्तिक ०७४, काठमाडौं । बुधबार बिहान ट्याक्सीभित्र मृत फेला परेका यज्ञबहादुर खड्काको परिवार र यातायात व्यवसायी संगठनहरुले खड्काको हत्यामा संलग्न दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ ।
मृतकका श्रीमती गीता कार्की खड्का साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, श्री स्वस्तिक स्वरोजगार ऋणि ट्याक्सी व्इवसायी संघ र अखिल नेपाल यातायात मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा संयुक्त निवेदन दिई दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका हुन् ।
सर्लाही घुर्कयौली घर भई हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय खड्का भक्तपुरस्थित दिब्यश्वरी प्लानिङको जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीमा मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।
खड्काको कसैले हत्या गरेको हुनसक्ने भन्दै भक्तपुर प्रहरी प्रवक्ता प्रसाईंले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए ।