२ कार्तिक ०८१, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमास प्रमुख याह्या सिनवार इजरायली कारबाहीमा मारिएपछि विश्वकै लागि राम्रो दिन भएको टिप्पणी गरेका छन् ।
बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ । इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि यो राम्रो दिन हो ।’
अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारको निन्दा गर्दै हमास नेताका रूपमा याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार रहेको पनि बताएका छन् ।
बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको उल्लेख गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्ने र उनीहरूलाई बधाई दिने पनि बताएका छन् ।