हात्तीलाई दाना अभाव भएपछि चितवन निकुञ्ज भित्रको घाँस दिन व्यवसायीहरुको माग

राजेन्द्र आचार्य/२० चैत ०७६, चितवन । संकटापन्न वन्यजन्तुको सूचीमा रहेका निजी क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन निकुञ्जका घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् ।

लकडाउनसगैँ यहाँ हात्तीलाई खुवाउने दाना अभाव भएपछि हात्ती संरक्षणका लागि निकुञ्ज भित्रका घाँस दिन व्यवसायीहरुले माग गरेका हुन् ।

युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दिएको जानकारी अनुसार निजीस्तरबाट पालिएका पर्यटकीय नगरी सौराहा क्षेत्रमा रहेका हात्तीहरुमा घाँसको अभाव भएको छ ।

“निकुञ्जबाट घाँस दिनुपर्छ भनेर हामीले धेरै पहिलेदेखि माग राखेका थियौँ” तिवारीले भने, “हात्ती मैत्री सौराहा र हात्ती बिना सौराहको कल्पना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणका लागि निकुञ्जका घाँस उपलब्ध गराउन माग गरेका हौं ।”

एउटा हात्तीलाई दैनिक २ सय ५० किलो खाना आवश्यक पर्ने भन्दै उनले लकडाउनका कारण आवश्यक दाना लिन नपाएको गुनासो समेत गरेका छन् ।

क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भटर्रराईले हरियो घाँस मात्र दिए पनि जोगाउन सकिने बताएका छन् । उनले हात्तीको दिगो संरक्षणका लागि सरकारीस्तरबाटै भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएको बताए ।

सौराहामा अहिले सौराहामा ७० वटा नीजि हात्तीहरु रहेका छन् । यी हात्ती सफारीका लागि प्रयोग हुँदै आएका थिए ।

एसियाली र अफ्रिकी गरी जम्मा दुई प्रजातिका हात्तीमात्रै हाल पृथ्वीमा रहेका छन् । एसियाली हात्ती नेपाल लगायत एसियाका १३ देशमा करिब ३५ देखि ५० हजार छन् भने अफ्रिकी हात्तीको संख्या करिब ४ लाख रहेको छ ।

नेपालमा पाइने हात्ती एसियाली प्रजाति हो । नेपालमा यसको संख्या करिब २ सय मात्रै रहेको छ ।

अहिलेकै गतिमा हात्तीको शिकार हुने र संरक्षणका उपाय नअपनाउने हो भने अबको १२ वर्षमा विश्वबाट हात्ती लोप हुने विभिन्न अध्ययनले देखाएको व्यवसायीहरु बताउँछन् ।

मानिसभन्दा धेरै पुरानो र रैथाने मानिने हात्ती बुद्धिमान जनावर हो । उहिलेउहिले हात्तीलाई तालिम दिएर काममा लगाउने, युद्धमा पनि प्रयोग गरिन्थ्यो । मोटरगाडी र मेशिनको प्रचलन आएपछि हात्तीको उपयोगिता रहेन । तर, आज पनि हात्तीको धार्मिक एवं सांस्कृतिक महत्व रहिरहेको छ ।