हामी पार्टी एकताको प्रक्रियामा कुनै पनि हालतमा पछि फर्कन्नौँ -‘प्रचण्ड’

१ माघ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगकोको पार्टी एकताको प्रक्रिया कुनै पनि हालतमा पछि नफर्कने बताएका छन् ।

एउटै कम्युनिष्ट केन्द्र बनाउने आफ्नो वर्षौदेखिको सपना रहेको उल्लेख गर्दै दाहालले एमाले अध्यक्ष केपी ओलीसमेत पार्टी एकताको प्रक्रियाबाट पछि नफर्कने बताएका हुन् ।

गोकर्णेश्वर नगरपालिकामा सोमबार आयोजित तारेभिर महोत्सवको उद्घाटन गर्दै दाहालले भने, ‘एउटै कम्यूनिष्ट केन्द्र बनोस् र नेपालमा समृद्धि आओस् भन्ने चाहना थियो अब त्यो पूरा हुन्छ। एमाले अध्यक्ष ओली र हामी कुनै पनि मूल्यमा अब पछि फर्किदैनौ ।’

उनले एमाले र माओवादी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा संयुक्त घोषणापत्र लिएर लिएर गएको र झण्डै दुई तिहाई मत प्राप्त गरेको उल्लेख गरे । जनताले कम्यूनिष्ट एकताको प्रक्रियालाई अनुमोदन गरेकाले अब त्यो काम छिट्टै पुरा हुने दाहालको भनाइ थियो ।

उनले अब स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका सरकार क्रियाशील हुने अवस्था आएको उल्लेख गर्दै सबै सरकारको ध्यान विकासमा मात्र केन्द्रित हुने धारणा राखे ।

 

तपाइको मत