बिरामीको चाप घट्यो भने बेतलबी बिदा, बढे डबल ड्युटी बस्नु पर्ने !
कतिले भने, ‘नर्स पढेर के गर्छौ ? अहिले के गर्दैछौ नानी ?’ यिनै प्रश्न सोध्नेहरूको भीडमा ‘नर्सिङ गरिराछु’ भन्दा राम्रो गरेछौ, समाजसेवा गर्नु त धर्म हो पनि नभनेका होइनन् । तर, कोही भन्छन्, ‘नर्स त त्यही डाक्टरको पछिपछि ‘वीपी कफ’ र थर्मोमिटर’ बोकेर हिँड्यो, औषधि दियो अनि केही कुरा सोध्यो भने झर्कियो ।’
नर्सले नर्सिङ केयरमा फोकस गर्नुपर्दछ । मेडिकल डाइग्नोसिस गरेर मेडिसिन चलाउने हक छैन, सायद उनीहरुलाई थाहा छैन् होला आधाभन्दा बढी रोग त केयर (हेरविचार) गरेरै निको हुन्छ ।
हामी एउटै बिरामीलाई दुईपटक हिस्ट्री लिन गयौं भने भन्छन् कि ‘कति सोधेको ? सबै कुरा भनिसक्यौं त अघि नै !’
तपाईहरु दुईपटक सोध्दा त झर्किनुहुन्छ, हामीलाई त एउटै बिरामीको चारपाँच जना, अझै १५/२० जना बिरामीको कुरुवाले सोधिरहँदा कस्तो हुन्छ होला ?
यसको मतलब नसोध्नुस् भनेको होइन, कुरुवाहरुले पनि के भयो भनेर ह्याण्डओभर दिँदै गए त हुन्छ नि ! अनि फेरि एउटै काममात्र पनि त हुँदैन् । केयर, मेडिकेसन, डकुमेन्टेसन, वार्ड म्यानेज लगायत धेरै कामहरु पनि हुन्छन् । एक/दुई जना स्टाफले सबै काम भ्याउनु पर्दछ । नत खाजा खाने ठेगान हुन्छ, नत शौचालय जाने नै ! धन्न, सास फेर्नलाई समय छुट्याउनु पर्दैन र मात्रै ! म त भन्छु नर्स हुन हिम्मत, आँट र साहस चाहिन्छ । दुखाईमा छट्पटाइरहेका बिरामीको कुरा बुझ्नुपर्छ, रोइरहेकाहरूका आँखाको आँसु पुछ्नु पर्दछ । कसैको अन्तिम बिदाईले कति दिनसम्म आफैँलाई दुःखी बनाइरहन्छ । अरुको दुखाइले आफ्नै मुटु घोचिरहन्छ । आफ्नै घरमा तीन महिने शिशुलाई छोडेर अस्पतालको बेडमा रहेकी एउटा आमालाई दुध चुसाउने (लाइभ ब्रेस्ट फिडिङ) बारेमा सिकाइरहँदा पनि खुशी हुनुपर्छ ।
कहिलेकाहिँ लाग्छ, यो सब केका लागि ? मेरो आफ्नो जिन्दगी खोई ? मैले मेरो परिवारलाई किन समय दिन सकिन ? यी र यस्ता अनगिन्ती प्रश्नहरू जन्मिन्छन् तर जसको मैले जवाफ खोज्ने प्रयत्न नै गरिन ।
अझ पीडा त त्यतिखेर हुनेरहेछ, जब अस्पताल व्यवस्थापनले भन्छ कि, ‘अहिले बिरामीको चाप घट्यो अस्पताल घाटामा गएको छ, तपाईं बेतलबी बिदा बस्नुस् ।’ अर्कोतिर बिरामीको चाप बढेको बेला डबल ड्युटी बस्नु पर्ने ! नर्सलाई बिदाको कुरा त के कुरा ? आखिर यस्तो पेलाई कहिलेसम्म, के नर्स स्वचालित मेशिन हुन र ?
यतिबेला कोभिड–१९ को महामारीले विश्व आक्रान्त छ, नेपालमा पनि कोरोना संक्रमितको दर दिन प्रतिदिन झन्झन् उकालो लागिरहेको छ तर यस्तो अवस्थामा पनि हामीले आफ्नो ड्यूटी भुलेका छैनौँ । आफ्नो स्वास्थ्य र परिवारको भविष्यलाई समेत ख्याल नगरी कोरोना महामारीका बिच बिरामीको उपचारमा अहोरात्र खटिरहनु हुने देश तथा विदेशमा रहेका सम्पूर्ण नर्सिङहरूमा सलाम छ ! नर्स हुनुमा गर्व छ !