८ भदौ ०७४, राजविराज । राजविराज नगरपालिका ९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टी देवी र ३ छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनी कष्टकर जीवन बिताइरहेका छन् ।
उनीहरु बसेको स्थलभन्दा सय मिटरको दुरीमै निःसन्तान दम्पत्ति ८० वर्षीय वृद्ध विन्देश्वर सदा पत्नी किसनी देवीसहित बाँसमा त्रिपाल झुण्डयाई रात बिताएको बिहीवार १३ दिन पुगेको छ ।
एलानी जग्गामा बनाएको दुबैको झुप्रो साउन २७ गते आएको बाढीले बगाएपछि केही बचेको छैन् । बचेको छ केबल ज्यान मात्रै । बाढीले वस्तीमा रहेको ३० परिवारको घर डुवानमा परेको थियो । जसमध्ये कमल र विन्देश्वरको घर नै बगायो भने २८ परिवारको घर डुवानमा परेको थियो ।
वर्षा केही मत्थर हुँदै गएपछि बस्तीका २८ परिवारले घर फर्की जसो तसो गुजारा गर्दै आए पनि घर नहुँदा कमल र विन्देश्वर भने अहिले पनि परिवार सहित पाल मुनी कष्टकर जीवन विताउन बाध्य छन् ।
“बाढीले घरै बगाएपछि फर्केर कहाँ जानु” बाढीपीडित कमलले भने, “बाढीले नाङ्गेझार बनाए पनि हाम्रो अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय आएको छैन ।”
साउन २७ गते मध्यरातमा ज्यान जोगाएर भागेका विन्देश्वर पनि अब कहाँ गएर बस्ने भन्ने पिरलोमा छन् । बाढीले घर बगाएको भोलिपल्टै साउन २८ गते हेल्प नेपाल नेटवर्क काठमाडौंको सहयोग र स्थानीय धर्मीहल्फा महिला विकास क्लवको संयोजनमा वितरण गरिएको त्रिपालमा गुजारा गर्दै आएका उनीहरुले बाढी पीडितहरुका लागि सरकारले ठाउँ ठाउँमा राहत वितरण गरिरहेको सुनेको तर आफूरुसँग सरकारी निकायबाट हालसम्म कुनै राहत नपाएको गुनासो गरेका छन् ।
ती वस्तीका पीडितहरुको अवस्था बुझ्न र उनीहरुका बालबालिकाको लागि टुथपेष्ट, ब्रस र साबुन लगायतका राहत सामाग्री लिएर बिहीबार दोस्रोपल्ट पुगेका धर्मीहल्फा महिला विकास क्लवका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादव तथा सञ्चारकर्मीहरुलाई पीडा सुनाउँदै बढी पीतिडहरुले एकै स्वरमा भने, “आजसम्म हाम्रो अवस्था बुझ्न कुनै सरकारी निकाय आएका छैनन, कृपया हाम्रो पीडा प्रशासन र सरकारसँग पु¥याइदिनोस् हजुर ।”
स्थानीय लखन सदाले आफूहरुलाई व्यवस्थित आवासको व्यवस्था मिलाई दिन आग्रह गर्दै भने, “वर्षेनी बाढीले पीडित बन्ने गरेका छौं, अझै कति भोगी रहनु ?”
उनीहरुले वडा सचिव महेश यादवलाई साउन २८ गते नै नाम र क्षति विवरण टिपाई सकेपनि हालसम्म कुनै राहत पाउन नसकेको गुनासो गरे ।
अच्चमको कुरो के छ भने, बाढी पीडित सूचिमा हालसम्म उनीहरुको नाम पनि परेको छैन् । राहत पाउनेको सूचिमा आ–आफ्नो मान्छेको नाम लेखाउने विभिन्न प्रभावित क्षेत्रमा होडबाजी नै चलेपनि कतिपय प्रभावित क्षेत्रका वास्तविक पीडित समक्ष अझै राहत पुग्न नसक्नु दुःखद भएको धर्मीहल्फा क्लवका अध्यक्ष यादवले बताए ।
मोहनपुरका सुकुम्बासी वस्ती विस्थापित हुने अवस्थामा
सप्तरीको अग्नीसाई र कृष्णा सवरण गाउँपालिका ६ स्थित मोहनपुरका सुकुम्बासी वस्ती विस्थापित हुने अवस्थामा पुगेको छ ।
अविरल वर्षासँगै मगर्नी खोलाको बाढी बस्तीमा पसेपछि ८४ परिवार विस्थापित हुने अवस्थामा पुगेको हो ।
खोलाले धार परिवर्तन गरी वस्तीतर्फ बाढी पसेपछि वस्ती हिलाम्य हुनुको साथै चार विगाहा भन्दा बढी धानवाली वालुवाले पुरेको स्थानीय दुर्गा प्रसाद भट्टराईले बताए ।
‘बाढी पसेर घरमा बसी सक्नु छैन, जाउँ भने कतै जाने ठाउँ पनि छैन्’ स्थानीय धनमाया राउतले गुनासो गरिन् ।
खोलामा तटबन्ध निर्माण नभए बाढीको जोखिम बारम्बर सामाना गर्नु पर्ने बताउदै पीडित बमभोल चौधरीले खोलाको दिगो व्यवस्थापन नहुँदा वस्ती नै खतरामा रहेको बताए ।
सुकुम्वासीहरु समस्यामा परेको जानकारी पाएपछि संघीय समाजवादी फोरम नेपाल सप्तरीको सह सचिव बृजमान तामाङको नेतृत्वको टोली बाढी प्रभावित क्षेत्र पुगेर जानकारी लिएका छन् ।