हिन्दीमा राजदूत रेले, नेपालीमा सभामुख ओनसरीले संवाद गर्दा

Rai and Onsari७ पुस, काठमाडौं ।
सभामुख निर्वाचित भएदेखि अहिलेसम्म सभामुख ओनसरी घर्तीसँग शिष्टाचार भेट समेत नगरेका भारतीय राजदूत जयन्त प्रसाद राय दिल्लीले नेपालमा मधेसी मोर्चाका माग पुरा गर्न सरकार तर्फबाट चालिएका पछिल्ला कदमको स्वागत गरेसँगै मंगलबार सभामुखलाई भेट्न राय सिंहदरबार पुगे ।

भारतको लोकसभामा पनि महिला नै सभामुख रहेको प्रसङ्ग कोट्याउँदै नेपालमा पनि महिला सभामुख भएकामा खुसी लागेको बताएर कुराकानीको सुरुआत गरेका राजदूत रायले हिन्दीमै बोलेका थिए । तर, राजदूत रायले हिन्दीमा बोल्दा सभामुख घर्तीले नेपालीमै कुुराकानी सुरु गरिन् । तब सँगै रहेकाहरु चकित भए । राजदूत राय र सभामुख घर्तीको भेटमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।

भेटमा राजदूत रायले नेपालको मन्त्रिपरिषद्ले मधेसी मोर्चाका माग सम्बोधनका लागि लिएको निर्णयको भारत सरकारले स्वागत गरिसकेको भन्दै त्यसले समस्या समाधान गर्नेमा आशावादी रहेको विश्वास व्यक्त गरे । साथै, उनले नेपालको समृद्धिमा भारत सधैं सहयोगीको भूमिका खेल्न तयार रहेको प्रतिबद्धता जनाए ।

राजदूत रायले सभामुख घर्तीलाई भारत भ्रमणको औपचारिक निम्ता पनि दिए भने सभामुख घर्तीले आफू उपयुक्त समयमा भारत जाने बताइन् ।

तपाइको मत