५ असोज ०७४, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि शुरु भएको छ ।
आज हिन्दु धर्मावलम्बीहरुले विधिपूर्वक ‘घट’ स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गर्दै दशैं पर्वलाई स्वागत गरेका छन् ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
वडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
दशैँ टीका प्रसाद ग्रहण गर्न असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । यसअवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।
आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १४ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।