हिन्दू धर्मावलम्बीले शिवको पूजा आराधना गरी महाशिवरात्री पर्व मनाए

१ फागुन ०७४, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाउने महाशिवरात्री पर्व आज आराध्यदेव शिवको पूजा आराधना गरी मनाएका छन् ।

हिन्दू धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन-दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ ।

तपाइको मत