हुण्डी कारोबारीविरुद्ध ४ अर्ब १४ करोडको विगो दाबीसहित मुद्दा दायर

१२ भदौ ०७४, काठमाडौं । राजश्व अनुसन्धान बिभागले हुण्डी कारोबारीविरुद्ध चार अर्ब १४ करोडको विगो दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सोमबार बिभागले दलबहादुर पुन, लव कुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागले करीव १ वर्षको अध्ययनपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

डेढ वर्षअघि काठमाडौं प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी १२ लाख रुपैयाँ विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डी सहित उक्त कम्पनीबाट कामदार दलबहादुर पुन र लवकुमार नेपाललाई पक्राउ गरेको थियो ।

उक्त ट्राभल्सका मालिक मिलन गुरुङ र धरम गुरुङ हुन उनिहरू बेलायत बसेर हुण्डि कारोबार गर्ने गरेको विभाग स्रोत बताउँछ ।

तत्कालिन समयमा प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र गुरुङ र विद्यादेवी गुरुङको नाममा काटिएको ५० लाखको चेक जफत गरेको थियो ।

विभागले ट्राभल्सको डाटा इन्ट्री गर्ने कम्प्युटर जफत गरेर अध्ययन गरेको थियो । उक्त कम्प्युटरको साढे ४ महिनाको डाटा इन्ट्रीमा ४ करोड रुपैयाँको हुण्डि रकम देखिएको थियो ।

विभागले निर्देशक रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत तोकेर अध्ययन अघि बढाएको थियो । विभागका अनुसार यो अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा हो ।

तपाइको मत