२४ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले आगामी बजेटमा श्रमजीवी मजदुरहरुका लागि १० अर्व बजेट विनियोजन गर्न आग्रह गरेको छ ।
देशभर असंगठित र संगठित क्षेत्रका गरी कूल साठी लाखभन्दा बढी मजदुरहरु रहेको र लकडाउनबाट सबैभन्दा बढी प्रभावित श्रमजीवी मजदुरहरु भएको भन्दै महासंघका अध्यक्ष जगत सिम्खडाले बजेटमा मजदुरका लागि विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।
अन्टुफ अध्यक्ष सिम्खडाले मंगलबार महासंघ कार्यालयमा लकडाउन र यसबाट सिर्जित मजदुरको वर्तमान समस्या र समाधान साथै भविष्यमा रोजगारीका अवस्थासम्बन्धी अनौपचारिक छलफल गर्ने क्रममा मजदुरलाई आगामी बजेटमा सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
बागमती प्रदेश सांसद समेत रहेका अध्यक्ष सिम्खडाले उक्त बजेटमार्फत् बेरोजगार मजदुरहरुका लागि विशेष रोजगारी सिर्जना गरेर देशको अर्थतन्त्रलाई टेवा पुग्ने योजनासहित सरकार अघि बढ्नु पर्ने बताएका छन् ।
यस्तै होटल संघ नेपाल (हान)ले ट्रेड युनियनहरुसँग कुनैपनि छलफल र परामर्श नगरेर मजदुरविरोधी निर्णय गरेको भन्दै उनले मजदुरहरु चुप लागेर बस्ने अवस्था नरहेको भन्दै होटल संघ नेपालले उक्त निर्णय सच्चाउनु पर्ने अन्यथा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
सशक्त संघर्षको लागि तयार रहन निर्देशन
यसैबीच बैशाख २१ गते होटल संघ नेपालले गरेको निर्णय कार्यान्वयन गरेर देखाउन चेतावनी दिँदै सोमबार अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टूँरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा होटल संघ नेपाल (हान)को निर्णयको भत्र्सना गर्दै मजदुरहरुलाई सशक्त संघर्षको लागि तयार रहन आग्रह गरिएको छ ।
“होटल संघ नेपालले वार्तालाई भंग गरी एकतर्फीरुपमा श्रमिकहरुको पारिश्रमिक, सेवा सुविधा, श्रम ऐनको दफा १४५ प्रयोग गरी श्रमिक निश्कासन गर्ने धम्की जस्ता निकृष्ट हर्कतप्रति हामी घोर भत्र्सना गर्दछौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “हाम्रो मातहतमा रहेको प्रष्ठिानस्तरको युनियन लगायत आमश्रमिकहरुमा हानले गरेको १२.५ प्रतिशत पारिश्रमिक दिने निर्णय नमान्न र गम्भीर भएर आफ्नो प्रतिष्ठानको श्रमिकको पारिश्रमिक सेवा सुविधा र रोजगारी संरक्षणको निमित्त एकजुट भई सशक्त संघर्षको लागि तयार रहन निर्देशन गर्दछौं ।”
संयुक्त विज्ञप्ति :