२२ भदौ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले होल्डिङ सेन्टरका नाममा ठगी गर्ने क्रम बढेकाले छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष सिम्खडाले होल्डिङ सेन्टरका नाममा केही अमुख व्यक्तिहरुले बैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका श्रमिक/यात्रुसँग बढी रकम असुलेर यातायातसम्बद्ध श्रमिक तथा स्वारोजगार व्यवसायीहरुलाई समेत न्यून रकम दिई ठगी गर्नेक्रम बढेको भन्दै सत्थतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।
विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरूलाई होल्डिङ सेन्टरबाट सेटिङमा ओसार्ने काम भइरहेको भन्ने गुनासो बढिरहेको भन्दै अध्यक्ष सिम्खडाले तत्काल छानबिन गरी दोषीउपर कारबाही र यात्रुलाई सर्वसुलभ गन्तव्यसम्म पुग्ने वातावरण बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
यातायातसम्बद्ध श्रमिक तथा स्वरोजगार व्यवसायीहरुले सर्वसुलभ दरमा स्वदेश फर्किएका यात्रुलाई गन्तव्य पु-याउन तयार रहेको बताए पनि होल्डिङ सेन्टरका नाममा ठगी गर्ने समूहका कारण यात्रुहरु पीडित भएकाले सरोकारवाला निकायले यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्नेहरुलाई तत्काल कारवाही गर्नुपर्नेमा उनले जोड दिए ।
बागमती प्रदेश सांसद समेत रहेका महासंघका अध्यक्ष सिम्खडाले कोभिड–१९ महामारीको संक्रमण रोकथाम र नियन्त्रणका नाममा सञ्चालित होल्डिङ सेन्टरबाटै बिचौलियाको मिलेमतोमा श्रमिक र व्यवसायीहरु ठगिनु दुखद भन्दै विदेशबाट फर्किएकालाई होल्डिङ सेन्टरबाट गाउँसम्म पु-याउन प्रयोग हुने सवारीसाधनमा लागू गरिएको सिन्डिकेट अन्त्य हुनुपर्ने बताएका छन् ।
बैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका श्रमिकहरु कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमै बेखर्ची भई अलपत्र परेर स्वदेश फर्किएको अवस्थामा समेत विभिन्न नामका समूहले सरकारी संलग्नतामै यात्रुमाथि खुलेआम ठगी गरेर घरसम्म पुग्न सास्ती दिएको भन्दै महासंघले तीनै तहका सरकारलाई श्रमिकप्रति जिम्मेवार र गम्भीर बन्न साथै दोषीमाथि कारवाही गर्नुपर्ने आवाज उठाएको हो ।
केही व्यवसायिक संगठन र व्यक्तिको स्वार्थअनुसार सिन्डिकेट लगाएर सामान्य व्यवसाय गरेर खाने व्यवसायी र यात्रु दुवैमाथि ठगी गर्नु अपराध भएको समेत महासंघका अध्यक्ष सिम्खडाले बताएका छन् ।
उनले साबिकभन्दा ५० प्रतिशत बढी भाडा उठाउन पाइने भए पनि खुलेआमरुपमा यात्रुलाई टिकट समेत नदिई हजारौं रूपैयाँ बढी रकम लिएर यात्रा गराइरहेकाले खुलेआम ठगी गर्नेहरुलाई कारवाही गर्ने राज्यको निकाय नै बेखर बन्नु दण्डहीनताको पराष्ठ भएको बताए ।
सरकारले बनाएको कार्यविधिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई त्यहाँदेखि होल्डिङ सेन्टरसम्म कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्ने र त्यसपछि प्रदेश र स्थानीय तहले जिम्मेवारी लिनुपर्ने व्यवस्था छ । जसका लागि सात प्रदेशका लागि सातजना मन्त्रीलाई नै जिम्मेवारी दिएको छ । तर, मन्त्रीहरूकै निगरानीमा भएका काम व्यवस्थित नभएको जनगुनासो र आक्रोश दिनानुदिन बढिरहेको छ ।