ह्‍िवलचेयर क्रिकेटरलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत

काठमाडौं । सरकारले यही पुस १ गते भारत र बंगलादेशको टोली सम्मिलित त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।

‘ह्‍िवलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो । त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।’

सरकारको निर्णयअनुसार उपाधि विजेता टोलीका १४ जना खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

नेपाल ह्‍िवलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाले सरकारको निर्णयबाट आफूहरु उत्साही भएको जनाएको छ ।

संघले आयोजना गरेको ह्‍िवलचेयर क्रिकेट अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

यसअघि दुईभन्दा बढी देश सम्मिलित प्रतियोगिता भएको थिएन ।

समूहगत चरणको खेलमा भारतलाई पराजित गरेको नेपालले फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै उपाधि चुमेको थियो ।

‘नसोचेको सम्मान पाइयो । यो हामीलाई सरकारले दिएको ठूलो सम्मान हो । यो एउटा सकारात्मक नजिका रुपमा रहनेछ’, छुल्टिमले भने, ‘सरकारले अहिलेसम्म फरक क्षमता भएकाको खेलकुदका लागि केही नगरेको भन्ने आरोप लाग्दै आएको थियो तर, यो निर्णयले त्यो बुझाइलाई पनि परिवर्तन गर्नेछ ।’

तपाइको मत