२९ पुस ०७४, काठमाडौं । ११ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएमा नर्सहरुले देशभरका अस्पतालमा आज एक घण्टा काम ठप्प पारेका छन् ।
बुधबारदेखि थालिएको नेपाल नसिंङ संघको विरोध कार्यक्रम अन्तर्गत आज देशभरका नर्सहरुले देशभरका अस्पतालमा बिहान १० देखि ११ बजेसम्म एक घण्टा काम ठप्प पारेका हुन् ।
नर्सहरुको हकहितका लागि नर्सिङ संघले एक विज्ञप्ति जारी गर्दै गत बुधबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
विरोध कार्यक्रम अन्तर्गत पुस २६ र २७ गते कालो पट्टी बाँधी ड्युटी गर्ने, पुस २८, २९ र ३० गते बिहान १० देखि ११ बजेसम्म एक ड्युटी छोड्ने, माघ १,२ र ३ गते बिहान १० देखि १ बजेसम्म ३ घण्टा ड्युटी छोड्ने, माघ ४,५ र ६ गते बिहान ८ देखि दिउसो ४ बजेसम्म एक सिफ्ट ड्युटी छोड्ने र ७ गते माग पुरा नभएसम्म २४ सै घण्टा ड्युुटी छोडी स्वास्थ्य मन्त्रालयमा धर्ना बस्ने कार्यक्रम तय भएको नेपाल नसिंङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले बताइन् ।
नेपाल नर्सिङ परिषद्को ११ बुँदे मागहरु
१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
२. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस् ।
३. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।
५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस् ।
६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस् ।
७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।
८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
९. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।
१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस् ।