अमेरिकाले १२बुँदे व्याख्यात्मक घोषणामा सहमति नजनाए एमसीसी स्वतः खारेज – नारायणकाजी श्रेष्ठ

१७ जेठ ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीबारे चर्चा नभएपनि ४ सय केबी प्रसारण लाइन निर्माणका बुँदा राखिएपछि प्रश्न उठाएका छन् ।

श्रेष्ठले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि मंगलबारदेखि राष्ट्रिय सभामा सुरु भएको छलफलमा भाग लिँदै एमसीसी र १२ बुँदे व्याख्यात्मक घोषणाबारे प्रश्न उठाएका हुन् ।

एमसीसी संसदले पास गरेको तर १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द नबोलेको भन्दै श्रेष्ठले भनेका छन्, ‘अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन । त्यसकारणले यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो ? प्रस्ट हुनुपर्छ ।’

श्रेष्ठले बजेटमा लप्सीफेदी–रातमाटे–हेटौंडा–दमौली–बुटवल–गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण अगाडि बढाइने उल्लेख भएको तर, एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेको हो ? भनी प्रश्न गरेका थिए ।

१२बुँदे व्याख्यात्मक घोषणामा अमेरिकाले सहमति नजनाए स्वतः खारेज हुने उल्लेख छ ।