७ साउन ०७७, काठमाडौं । सरकारले १२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा गरेसँगै निजी तथा सरकारी कार्यालय साविकअनुसार सञ्चालन भएका छन् ।
सञ्चार तथा सूचना एवम् अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलनमा यसअघि पटकपटक थप गरिएको बन्दाबन्दीको थप नभएको र कोरोना जोखिम न्यूनीकरणका लागि दुई सिफ्टमा सञ्चालन हुँदै आएको निजी तथा सरकारी कार्यालय अब १० देखि ५ बजेसम्म सञ्चालन हुने बताएका हुन् ।
उनले बन्दाबन्दी अन्त्य भए पनि कोरोना संक्रमण जोखिम रहेकाले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् रहने बताउँदै सरकारले शैक्षिक संस्थाबाहेक अन्य क्षेत्रलाई साउन १५ र भदौ १ पछि खुला गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले साउन १५ गतेपछि होटल, रेस्टुरेन्ट, ट्रेकिङ्ग, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय खुला गर्ने निर्णय गरिएको, भदौ १ देखि जोरबिजोर प्रणाली अन्त्यसँगै मध्यम दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन हुने साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न खुल्ने पनि बताए ।