१५ वर्षीय छोरीको विवाह गरिदिने ‘फुर्ते’लाई होला त कारवाही !

कानुनलाई नै चुनौती दिँदै १५ वर्षीय छोरीको धुमधाम विवाह

सोलुखुम्बु । जिल्लाको लोखिम ९ दियाले भन्ने तामाङ गाँउमा एक १५ वर्षीय युवतीको हालै तामझामको साथ विवाह सम्पन्न भएको छ ।

गाँउमा चोरी सिकारीको पेसा गर्दै आएका स्थानीय फुर्ते तामाङले १५ बर्षीय छोरीको कानुन विपरीत विवाह गरिदिएका हुन् ।

उनले विवाह समारोहमा आफ्नै घरको भरुवा बन्दुकबाट ८ पटक फाईरिङ समेत गरेको समाचार स्रोतले बताएको छ ।

स्रोतकाअनुसार फुर्ते तामाङले स्थानीय विद्यालय कक्षा ७ मा अध्ययनरत् कान्छी छोरी थर्क तामाङलाई हाडनाता पर्ने स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने सोमलाल तामाङसँग बिबाह गराइदिएका हुन ।

दण्डहीनताको घटना पटक-पटक भइरहने त्यस गाँउमा चोरी सिकारी होस् वा अन्य अवैध कार्यको खुलासा गरेमा त्यस्ता कुरा गर्नेलाई ज्यान लिइदिनेसम्मको धम्की दिने र कैयनलाई कुटपिट समेत गरेकाले सोझा स्थानीय फुर्तेका अघि चुपचाप बस्न विवश छन् ।

गाउँमा हुलदङ्गा मच्चाउन र एकाधिकार जमाउने उद्देश्यले फुर्तेले आफ्नी सबै ६ जना छोरीहरु १२ देखि १५ बर्षकै उमेरमा विवाह गराई दिएर एक/एक कन्ला जग्गाको व्यवस्था समेत गरी आफ्नै घर वरिपरि राखेका छन् । तिनीहरुबाट अहिले दुई दर्जन बढी बालबच्चा समेत जन्मिसकेका छन् ।

स्थानीय लोखिम छिवा बागुर निवासी तामाङ समुदायहरुले स्थानीय प्रहरीलाई खबर गराउँदा गोपनियता भङ्ग हुने र उजुरी गर्ने व्यक्ति नै असुरक्षित हुने भन्दै जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

तपाइको मत