१६ महिनापछि परीक्षणका लागि गुडाइयो नेपाली रेल

२४ पुस ०७८, जनकपुरधाम । झण्डै डेढवर्षपछि नेपाली रेल परीक्षणका लागि गुडाइएको छ ।

धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा विगत १६ महिनादेखि पार्किङ गरी राखिएको रेल परीक्षणका लागि शनिबार गुडाइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले भारतबाट १४ जनाको प्राविधिक टोली ल्याएर रेलको परीक्षण गरिएको जानकारी दिए ।

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल असोज ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको थियो भने उक्त रेल जनकपुर जयनगर रुटमा सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।