२१ चैत्र ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको पूर्ण बैठक सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष गणेश रेग्मीको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले ८ सय सदस्यीय जम्बो केन्द्रीय समितिलाई औपचारिक रुपमा भङ्ग गर्दै १८ सदस्यीय पदाधिकारी, ५१ सदस्यीय सचिवालयसहित १ सय ५१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको हो ।
बैठकमा एकाध सदस्यको सामान्य असन्तुष्टि रहे पनि जम्बो केन्द्रीय समितिलाई १ सय ५१ सदस्यीय बनाउन सफल भएको संक्षिप्त प्रतिक्रिया दिँदै महासंघका अध्यक्ष गणेश रेग्मीले असन्तुष्टिहरुलाई पनि सम्बोधन गरेर अघि बढ्ने बताए ।
संविधानतः राज्यको संरचना अनुसार महासंघको संरचनालाई पनि स्थानीय तहसम्म लैजाने बताउँदै उनले सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन कार्यान्वयनमा अब महासंघ लागि पर्ने बताए ।
त्यस्तै अध्यक्ष रेग्मीले देशभरका ३० स्थानीय तहमा रोजगारदाता, ट्रेड युनियन र स्थानीय सरकारका प्रतिनिधिबीच रोजगार सिर्जना गर्न साथै श्रमिकका सबैखाले समस्या हल गर्न त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम गरिने जानकारी दिए ।
यसैगरी महासंघका उपाध्यक्ष जय कार्कीले केन्द्रीय समितिलाई पूर्णता दिँदै गर्दा केही पुराना र इमानदार नेताहरु केन्द्रीय कार्य समितिमा आउन नसकेको बताए । साथै, उनले सचिवालय गठनका क्रममा पनि जुनियरहरु परेको तर केही सिनियर साथीहरु नै नअटाएको बताए ।
गत माघ १५ गते सम्पन्न विशेष राष्ट्रिय सम्मेलनद्वारा अनुमोदित १ सय ५१ सदस्यीय केन्द्रीय समितिको पूर्ण बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासंघका फ्रयाक्सन ईन्चार्ज जयपुरी घर्ती मगरले सम्बोधन गरेका थिए भने सातै प्रदेश र परिषदका इन्चार्ज र अध्यक्षहरुले सांगठनिक रिर्पोटिङ्ग राखेका थिए ।














