२५ साउन, काठमाडौं । २२ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेता रामचन्द्र पौडेलले ढोल बजाएर शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधन गरेर आदिवासी जनजाति र मधेसीका माग सम्बोधन गरिने भन्दै सरकारमाथि शंका नगर्न पनि आग्रह गरेका छन् ।
आदिवासी जनजाति र मधेसी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने प्रचण्डले बताए । आदिवासी जनजाति र मधेसीका माग सम्बोधनका लागि नै संघीय गठबन्धनसँग सहमति गरेर सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्नेमा विश्वस्त हुन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद नगरेको बताए । उनले नयाँ माग राख्नतिर भन्दा पनि उपलब्धीकोे संरक्षण गर्नतिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गर्दै आदिवासी जनजातिहरुले संविधानको कार्यान्वयनमा सहयोगी भूमिका खेले पहिचान कायम गर्न कांग्रेसले सहयोग गर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुले जातीय पहिचानको विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । उनीहरुले प्रमुख दलका शिर्ष नेतामाथि एकल जातीयवादी बनेको आरोप समेत लगाएका छन् ।
संयुक्त राष्ट्र सङ्घले विश्वका आदिवासीको संस्कृति संरक्षण गर्ने उद्देश्यले २२ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा विश्व आदिवासी दिवस मनाउन लागेको हो ।