
देवराम यादव/२३ साउन ०७७, सप्तरी । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि अस्पतालको उपचार सेवा शुक्रबारदेखि बन्द भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि शुक्रबार बिहानदेखि सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
‘एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनो शल्यक्रिया सेवा बन्द भएको छ’, डा. झाले भने, ‘बाँकी रहेका ५ जना चिकित्सक र ४ जना स्वास्थ्यकर्मी गरी ९ जनाको भरमा अस्पताल कसरी संचालन गर्ने ?’
सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइन बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ ।
एकातिर स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्कोतिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने बताएका छन् ।
उपचार सेवा बन्द भएपछि बाहिरबाट उपचारका लागि आएका बिरामीहरु राजविराजमा एम्बुलेन्स बुक गरि धरान, बिराटनगर लगायतका स्थानमा उपचारका लागि जान बाध्य भएका छन् ।
यता सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानीय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जसकारण बजारहरु सुनसान बनेको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।
जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या ५५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।













