५० हजार घुससहित नापी प्रमुख पक्राउ

२९ चैत्र ०७४, काठमाडौं । उदयपुर नापी कार्यालयका प्रमुख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बिहीबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई उनकै निवासबाट घुससहित पक्राउ गरेको हो ।

सदरमुकाम गाईघाटका ३ कठ्ठा जग्गाको नक्सा सुधार र संशोधन गर्ने भन्दै साहले २ लाख रुपैयाँ घुस मागेका थिए । २ लाख मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न भएपछि लिने– दिने सहमतिमा पेश्की रकम बुझ्दै गर्दा बिहान ८ बजेर १५ मिनेट जाँदा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए ।

सेवाग्राही सुधार र संशोधन गर्ने भन्दै ठुलो रकम माग भएपछि नापी विभागमा पुगेका थिए । साहले काममा ढिलासुस्ति र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेबीच २ लाख रुपैयाँमा सहमति भएको सेवाग्राहीले बताएका छन् ।

पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिएँ, सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’

तर सेवाग्राहीले भने टेलिफोन गरेर निवासमा बोलाई पैसा हातले नै बुझेर राखेको दाबी गरे । पैसा हातले बुझे/नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्ट गर्दा हातले नै बुझेको फेला पारेको कोइरालाले बताए ।

 

तपाइको मत