६ बैशाख ०७५, राजविराज । नगरपालिका ९ गढिया मलेठका ५ दलित बालबालिकाको शिक्षामन्त्री, पूर्वमन्त्री र सभासदले विद्यालय भर्ना गरेका छन् ।
बिहीबार मलेठ स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षा मन्त्री गिरीराजमणी पोखरेल, पूर्व मन्त्री उमेश यादव, सभासद रुवी कर्ण, विश्वनाथ साह र जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले पाँचैजना बालबालिकालाई कक्षा १ मा भर्ना गराएका हुन् ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे नेतृत्वको टोलीले आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको पहिचान गरी विद्यालय सम्म पु¥याउने पहल थालेपछि उनीहरु विद्यालय भर्ना हुन पाएका हुन् ।
भर्ना हुनेमा ७ वर्षीय रिङ्कु मरिक, ६ वर्षीय श्यामसुन्दर सदा, ८ वर्षीय राजकुमार सदा, ७ सुर्जी कुमारी सदा र ७ वर्षीय कृपानन्द सदा हुन् । भर्ना गरिएका विद्यार्थीहरुलाई तत्काल पोशाक र शैक्षिक सामग्री निशुल्क उपलब्ध गराईएको थियो ।
शिक्षा मन्त्री पोखरेलले शिक्षाबाट कोही वञ्चित नहुन भन्ने लक्ष्यका साथ देशैभर भर्ना अभियान थालिएकाले विद्यालय शिक्षामा पहुँच सुनिश्चितताका लागि विद्यालय जाने उमेर पुगेका सवै बालबालिकालाई भर्ना अभियान नछुटाउने आग्रह गर्दै उनले भने- ‘विद्यालय भर्ना गरेर मात्र हुदैन, नियमित विद्यालय आउने र वर्ष भरी टिक्ने वातावरण सहितको कार्ययोजना पनि बनेको छ ।’
मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधार गर्न आफु लागी परेको बताउँदै गुणस्तरिय शिक्षाबाट मात्र सक्षम जनशक्ति उत्पादन हुने भएकाले सरकारी विद्यालयमा आ–आफ्नो बालबालिकालाई अध्ययनका लागी भर्ना गराउन अभिभावकहरुसँग आग्रह गरे ।














