अखिल नेपाल ट्रेड युनियन महासंघ तनहुँले सामुहिक अदुवा खेती गर्दै

२३ फागुन ०८१, तनहुँ । अखिल नेपाल ट्रेड युनियन महासंघ तनहुँ जिल्ला समितिले सामुहिक उत्पादन अदुवा खेती गर्ने भएको छ ।

शुक्रबार बसेको तनहुँ जिल्ला महासंघको बैठकले संगठनको १० वटै स्थानीय तहका कमिटीहरू गठन-पुनर्गठन गर्ने, युवा र महिला कमिटी निर्माण गर्ने, सदस्यता नवीकरण र वितरण गर्ने साथै महासंघले सामुहिक उत्पादन अदुवा खेती गर्ने निर्णय गरेको हो ।

अन्टुफ जिल्ला अध्यक्ष वीर बहादुर थापाले दिएको जानकारीअनुसार अन्टुफ व्यास नगर कमिटीका अध्यक्ष कमल श्रेष्ठको ५० रोपनी जग्गामा यसैवर्षदेखि सामूहिक अदुवा खेती सुरू गरिनेछ ।

व्यास नगर ६, स्याम्घा हटियामा रहेको श्रेष्ठको जग्गामा अदुवा खेतीसँगसँगै अन्य नगदेबाली पनि लगाइने अध्यक्ष थापामगरले बताए ।

बैठकले श्रम ऐन संशोधन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, वेतनबृद्धि, आउटसोर्स खारेजीका लागि “पालिकास्तरीय मजदुरसँग अन्टुफ अभियान” चैत्र मसान्तसम्म चलाउने निर्णय समेत गरेको उनले बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सोमबहादुर थापा ‘एसबी’को प्रमुख आतिथ्यमा तनहुँको सदरमुकाम दमौलीमा बसेको सो बैठकमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, जिल्ला संयोजक सूर्यबहादुर गौली ‘पारस’, गण्डकी प्रदेश सदस्य डिलबहादुर नेपाली, अन्टुफ गण्डकी प्रदेश सचिव गुणराज बास्तोला, पार्टीको व्यास नगरपालिका अध्यक्ष गोपाल सुर्खाली, अन्टुफ गण्डकीका सहसचिव सूर्यभक्त पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।

बैठकमा हालै तनहुँ जिल्ला संयोजकको जिम्मेवारी पाएका सूर्यबहादुर गौली ‘पारस’, अखिल नेपाल निर्माण मजदुर संघका पूर्व महासचिव एवम् भानु नगरपालिकाको पार्टी उपाध्यक्षको जिम्मेवारीमा आएका शम्भुलाल श्रेष्ठ, व्यास नगरपालिकाको उपाध्यक्ष पदभार ग्रहण गरेका अन्टुफ गण्डकीका सहसचिव सूर्यभक्त पौडेल, बन्दीपुर १ का निर्वाचित वडा सदस्य (जनप्रतिनिधि) एवम् अन्टुफ बन्दीपुरका अध्यक्ष प्रेमबहादुर शाहीलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।