अखिल नेपाल स्वास्थ्य श्रमिक संघले दियो, कान्तिपुर अस्पताललाई ७ दिने अल्टिमेटम

कान्तिपुर अस्पताल प्रा.लि.ले श्रमिकका जायज माग तत्कालै सम्बोधन नगरे ठूलो मूल्य चुकाउनु पर्ने अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेलको चेतावनी !

अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेल साथै छलफलमा सहभागी व्यवस्थापन समितिका प्रतिनिधिहरु

३० जेठ, काठमाडौं । अखिल नेपाल स्वास्थ्य श्रमिक संघले कान्तिपुर अस्पताललाई आफ्ना मागहरु पूरा गर्न ७ दिनको अल्टिमेटम दिएको छ ।

शुक्रबार अखिल नेपाल स्वास्थ्य श्रमिक संघको केन्द्रीय अध्यक्ष निशा खरेलको प्रमुख आतिथ्यमा कान्तिपुर अस्पताल व्यवस्थापन समिति र कान्तिपुर अस्पताल मूल इकाई कमिटी बीच भएको छलफलमा श्रमिकहरुले आफ्नो माग ७ दिनभित्र पूरा गर्न अस्पताललाई अल्टिमेटम दिएको हो ।

आधिकारिक ट्रेड युनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पताल मूल इकाई कमिटीका अध्यक्ष प्रेमकृष्ण बोयजुले बैठकपछि अस्पतालका कार्यकारी निर्देशकलाई तीन महिनाको तलब भुक्तानीसम्बन्धी पत्र लेखेर ३ महिना (चैत, बैशाख र जेठ)को तलब भत्ता एकमुष्ट पाउनु पर्ने भनी ध्यानाकर्षण समेत गराएका छन् ।

“आर्थिक वर्ष ०७६/७७ अन्तर्गत कर्मचारीले पाउनु पर्ने चैत, बैशाख र जेठ महिनाको तलब भत्ता एकमुष्ट पाउनु पर्ने भनी निर्णय भएको” बोयजुले पत्रमा उल्लेख गरेका छन्, “उक्त तलब भत्ता आजको मितिले ७ दिनभित्र भुक्तानी गरी दिनुहुन यो पत्र प्रेषित गरिन्छ । अन्यथा, हामी बाध्य भएर विरोधका कार्यक्रमहरु तय गरिने जानकारी यसै पत्रमार्फत् गरिन्छ ।”

आधिकारिक ट्रेड युनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पताल मूल इकाई कमिटीका सदस्य तथा कर्मचारीहरु

अन्टुफ सचिवालय सदस्य समेत रहेकी अखिल नेपाल स्वास्थ्य श्रमिक संघको केन्द्रीय अध्यक्ष निशा खरेलले अस्पताल व्यवस्थापनलाई मजदुरका जायज मागहरुलाई तत्कालै सम्बोधन गर्न सुझाएकी छन् ।

दुई पक्षबीच भएका सहमतिअनुसार मजदुरहरुको माग पूरा नभए श्रमिकहरुसँग संघर्षको विकल्प नरहेको भन्दै अध्यक्ष खरेलले श्रमिकका मागलाई अस्पताल प्रशासनले गम्भीरतापूर्वक नलिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिइन् ।

“चैत्र महिनादेखि तलब नपाएको, नौ बुँदे माग डेढ वर्षदेखि सुनुवाई नभएको, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जान नचाहेको, तलब सुबिधा रू. ८ देखि १० हजार मात्रै रहेको, बन्दाबन्दीमा पनि यातायात सुबिधा नभएको, स्थायी कर्मचारीको संचय कोष काटिएको तर कोषमा रकम जम्मा नगरिएको, ग्रेड रोक्का गरिएको, कोरोना महामारीमा पनि स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त नभएको, बिरामी ल्याउँदा पठाउँदा समेत कमिशन खेल भएको, श्रमिकहरुलाई डर, धम्की दिने गरेको, २० वर्ष काम गरेका श्रमिकलाई पनि १५–१६ हजारभन्दा बढी तलब सुविधा नभएको साथै श्रम ऐनको समेत पालना नभएको” विषयमा आज श्रमिकहरु र व्यवस्थापन बीच भएको छलफल भएको थियो ।