२५ कार्तिक ०८२, काठमाडौं । शिक्षकहरुले चार महिनादेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर गाउँपालिकाको ढोकामा धर्ना दिन पुगेको छन् ।
यही कार्तिक १८ गतेदेखि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकहरु बिहानको १० बजे विद्यालय जानुपर्नेमा तलब नपाएको भन्दै गाउँपालिकामा धर्नामा बसेका हुन् ।
संघर्ष समितिका संयोजक एवं रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवले भनेका छन्, ‘गाउँपालिकाले तलब दिएको छैन । विद्यालय बन्द गरेर बिहान १० बजे धर्नाको लागि आउँछौं । कार्यालय समय सकिएपछि फर्किन्छौं ।’
तलब नपाएपछि शिक्षक–कर्मचारीले गाउँपालिकामा तालाबन्दी गरेका छन् । तर संयोजक यादवका अनुसार अत्यवाश्यक सेवामा भने रोक लगाइएको छैन । ‘खोप लगाउने अभियान चलेको छ । रोकेका छैनौं । अत्यवाश्यक बाहेक सबै सेवा ठप्प छ,’ उनले भने ।
आन्दोलनमा पालिकाका १६ वटा विद्यालयका शिक्षक र कर्मचारीहरू छन् । ‘२०० शिक्षक–कर्मचारी, वडा र स्वास्थ्य संस्थाका कर्मचारी पनि हुनुहुन्छ । सबै गरेर ३०० बढी धर्ना बसेका छौँ,’ यादवले भने ।
शिक्षकले तलब नपाएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंअघि नै तलब दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । तर अझैसम्म शिक्षकहरूले तलब पाएका छैनन् ।













