अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा स्वयंले लिनुपर्ने उपमहासचिव शर्माको भनाई

१८ साउन ०८२, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उत्पन्न समस्याको जिम्मा प्रचण्ड स्वयंले लिनुपर्ने बताएका छन् ।

पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा बोल्दै उपमहाचिव शर्माले आफू आत्मालोचना मात्रै हैन जुनसुकै त्याग गर्न रहेको बताउँदै अध्यक्ष प्रचण्डले पनि स्वयंले उत्पन्न गरेको समस्याको जिम्मा लिनुपर्ने धारणा राखेका हुन् ।

‘देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न म तयार छु,’ शर्माको भनाइ उधृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’

बैठकमा पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्दै शर्माले भनेका छन्, ‘पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो । अब बहस खुल्ला गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले पार्टीको निर्णय विपरीत सरकारको खेलमा समय फालेको बताउँदै उपमहासचिव शर्माले माओवादी पार्टी सरकारबाट बाहिरिएपछि सुरू भएको सुशासनको अभियानलाई अध्यक्षले कांग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा लगेर बिसाएको आरोप पनि लगाए ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माको अन्तरविरोध सतहमै देखिएको थियो भने शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए ।