१७ साउन ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई केही सञ्चार माध्यम र केही व्यक्तिले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यस्तो बताएका हुन् ।
‘पार्टीभित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो अभ्यास हो’, पुनले भने, ‘यस्ता विषयहरू बाहिर जति हल्ला गरिए पनि, त्यसले पार्टी विभाजनसम्म पु¥याउँछ भन्ने भ्रम साँचो होइन, अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई थप एकताबद्ध गर्दै लैजानेछौँ ।’
समाजवादी मोर्चामा आवद्ध दलहरूसँग समन्वय गर्दै एकताको सम्भाव्यता खोजिरहेको बताउँदै उनले भने, ‘विचार र प्रवृत्ति मिल्नेहरूसँग स्वाभाविक रूपमा एकता सम्भव छ तर केही मानिसहरू यस्तो प्रक्रियामा अवरोध सिर्जना गर्न चाहन्छन्, भ्रम फैलाउँछन् । तर हामी संयमित ढंगले छलफललाई अघि बढाइरहेका छौँ ।’













