अन्टुफले सातै प्रदेशमा १३६औं मई दिवस विविध कार्यक्रम गरेर मनायो

१८ बैशाख ०८२, काठमाडौं । आज १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस : अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ले प्रदेश र जिल्लाहरुमा विविध कार्यक्रम आयोजना गरेर मई दिवस मनाएको छ ।

महासंघ केन्द्रीय समितिले राजधानी काठमाडौंमा ¥यालीसहित प्रज्ञा भवनमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा ‘सामाजिक सुरक्षा कार्यान्वयन, आउट सोर्स खारेजी, उचित तलबमान र सेवाशुल्क पुनर्प्राप्तिसहित श्रम कानुन संशोधनका लागि संघर्ष गरौं’ भन्ने मूलनाराका साथ मनाएको छ ।

यस्तै अन्टुफ गण्डकी प्रदेश समितिले माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यमा ‘भ्रष्टाचारीहरुलाई सामाजिक बहिष्कारसहित स्वदेशमै रोजगारी सुनिश्चित गरौं, योगदानमा आधारित सामाजिक सुरक्षा पूर्ण कार्यान्वयन गरी उचित पारिश्रमिकका लागि संघर्ष गरौं !’ भन्ने मूलनारामा मजदुर भवनबाट पृथ्वीचोक, सभागृह चोक, सृजना चोक हुँदै ¥याली ह्वाइटहाउस पार्टी प्यालेस पुगेर कार्यक्रम गरि मनाएको छ ।

प्रमुख अतिथि गुरूङले अन्टुफ गण्डकीले आयोजना गरेको १३६औं मई दिवस कार्यक्रमलाई शुभकामना दिँदै यस दिवसको महत्व र आजको भूराजनीति अवस्थाका साथै मजदुर संगठन र कम्युनिष्ट पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापामगर, अन्टुफ गण्डकीका उपाध्यक्षहरू टंक पौडेल, रमेश सिके, मंगल लम्बु लगायतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रम रुद्र गौतमको अध्यक्षता र गुणराज बास्तोलाको सञ्चालनमा भएको थियो ।

अन्टुफ लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया, बाँके, दाङको राप्ती गाउँपालिका, घोराही तुल्सिपुर उपमहानगरपालिका, रुपन्देही, पश्चिम नवलपरासी, अर्घाखाँची र रोल्पा जिल्लामा कार्यक्रम सम्पन्न भएका छन् ।

यसैगरी कोशी प्रदेशको विभिन्न जिल्लारूमा मई दिवस मनाइएको अन्टुफ उपाध्यक्ष भुपाल सापकोटाले जानकारी दिए । यस्तै मधेश प्रदेश, कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशको जिल्लाहरूमा समेत मई दिवस भव्य रुपमा सम्पन्न भएको अन्टुफ केन्द्रीय कार्यालयले बताएको छ ।

हरेक वर्ष मे १ तारिखका दिन नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।

मई दिवसका केही तस्बिरहरु: