अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीले अमेरिकी भिसा नपाउने

१४ जेठ ०८२, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको छ ।

अलजजिराले जनाएअनुसार अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दबाब बढाउँदै गएको बेला पछिल्लो यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्का भएको अलजजिराले लेखेको छ ।

गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो ।

यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् ।