२९ साउन ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएको छन् ।
सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भनेका छन्, “अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । रेमिटान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुबै पक्षले गहन अध्ययन गरौँ र जे–जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाउँ।”
“निजी क्षेत्रलाई विश्वासमा नलिइकन, सहकार्य नगरिकन अर्थतन्त्रमा सुधार ल्याउन सकिन्न भन्नेमा म स्पष्ट छु” उनले भने, “अर्थतन्त्र चलायमान गराउन मैले र प्रधानमन्त्री कार्यालयको तर्फबाट जे–जे भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका म खेल्छु। अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नुस्। यहाँ हामी कोही सरकार, कोही निजी क्षेत्र छैनौँ, सबै नेपाली छौँ। देश अप्ठ्यारोमा प¥यो भने हामी सबै अप्ठ्यारोमा पर्छौं।”
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशसरण महत, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहभागी थिए ।













