अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ

१४ माघ ०७९, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध हतियार पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी पक्राउ गरिएको जानकारी गराएको हो ।

इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताएअनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ ।