आइतबारदेखि पठनपाठन नगर्ने शिक्षक-कर्मचारीलाई राजीनामा दिन निर्देशन

१३ बैशाख ०८२, गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयमा अनिवार्य उपस्थित भई पठनपाठन नियमित गर्न अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना जारी गरेर गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिक्षक तथा कर्मचारीहरुलाई आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न अनुरोध गरेको हो ।

शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेको भन्दै अध्यक्ष थापाले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने कि सरुवा जानुपर्ने सूचनामा उल्लेख गरेका छन् ।

‘समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रकृया अगाडि बढाई जानुहुन निर्देशित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले यस पालिका भित्रका सम्पूर्ण विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले मिति २०८२/०१/१४ गते देखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन र नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरुलाई अनुरोध छ ।’

गत चैत २० गतेदेखि अधिकांश शिक्षकहरु विभिन्न माग राखेर शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भएको आन्दोलनमा केन्द्रित छन् भने केही शिक्षकहरु आन्दोलनको बाहनामा आफ्नै घरको काममा व्यस्त छन् ।