आइसोलेशन बेडको अभावमा संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य

१७ जना डिस्चार्ज भएको भोलिपल्ट उत्तिकै संख्यामा थपिए कोरोना संक्रमित

देवराम यादव/३० जेठ ०७७, राजविराज । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोलिपल्ट सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १/१ गरी शुक्रबार १७ जना संक्रमित थपिएका हुन् ।

संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी पनि छन् । उनी बाहेक सबै १६ जना दुई साताअघि भारतको विभिन्न सहरबाट घर फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिहरु छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त परीक्षण रिपोटमा उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका एक जना स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए ।

हिजो बिहीबार कोरोना निको भएर १७ जना डिस्चार्ज भएका थिए भने आज १७ जना संक्रमित थपिएसँगै जिल्लामा कूल संक्रमित संख्या १ सय ३८ पुगेको छ ।

जसमध्ये २१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी रहेका १ सय १७ मध्ये १ सय ३ जनाको यहाँस्थित साईकृष्णा अस्पतालको आइसोलेशन वाडमा राखेर उपचार गरिरहेको छ ।

बेडको अभावमा १४ जना संक्रमित भने अझै सम्बन्धित स्थानीय तहको क्वारेन्टाईनमै छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले बताएको छ ।

“बेडको अभावका कारण केही संक्रमितलाई आइसोलेशनमा ल्याउन सकिएको छैन्,” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले भने, “आइसोलेशन बेडको अभावलाई पूर्ति तथा थप बेडको बिस्तार र व्यवस्थापनमा लागिपरेका छौं ।”

सप्तरीको १८ मध्ये १४स्थानीय तहमा कोरोना संक्रमित देखिसकिएको छ । यसलाई थप बिस्तार हुन नदिन श्रोत साधनले भ्याएसम्म काम गरिरहेको पनि उनले बताए ।