आईसीयु र भेन्टिलेटर थप्न सरकारलाई कानुन, न्याय तथा मानवअधिकार समितिको निर्देशन

६ भदौ ०७७, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको ‘कानुन, न्याय तथा मानवअधिकार समिति’ले सरकारलाई आईसीयु र भेन्टिलेटर थप्न निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको भर्चुअल बैठकले सरकारलाई कोरोना महामारी तीव्र रूपमा बढिरहेको भन्दै आईसीयु र भेन्टिलेटर थप गर्न निर्देशन दिएको हो ।

समितिका सभापति कृष्णभक्त पोखरेलले कोभिड– १९ को संक्रमण दर अहिलेकै अवस्था बढिरह्यो भने दशैं र तिहारसम्म संक्रमित संख्या करिब १ लाख पुग्ने र १० प्रतिशत संक्रमित गम्भीर बिरामी भएको अवस्था पनि १० हजार थान आइसियू र भेन्टिलेटर चाहिने बताए ।

समितिले संक्रमितको सम्भावित दर हिसाब गरेरै त्यसको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको उनले बताए ।

उनले कोभिड-१९ नियन्त्रण र उपचारमा सरकारले चालेका कदमप्रति असन्तुष्ट जनाउँदै कोरोना संक्रमितको आधारमा आईसीयु र भेन्टिलेटर सातै प्रदेशमा सन्तुलितरुपमा वितरण गर्न समितिले सरकारलाई निर्देशन दिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १ हजार ८०८ शैय्या आईसीयु मध्ये ९ सय ८४ कोभिडका लागि छुट्याइएको छ । यस्तै १ हजार ७० भेन्टिलेटरमध्ये ४ सय ९० कोभिडका लागि छुट्याइएको छ ।