आजको समाजलाई सकारात्मक सोचमा बदल्न विशेष पहलकदमी जरुरी हुन्छ – कुमार पन्त

“दश-पन्ध्र वर्ष अगाडिसम्म आफूजस्तै जस्तै लाग्ने माओवादी नेता कार्यकर्ताहरु आज कसरी आलिशान जीवन बिताइरहेका छन्, कुनै व्यापार व्यावसाय गरेको भए किन त्यसलाई सार्वजनिक नगरेको ?”

कुमार पन्त – अध्यक्ष, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टूराँ मजदुर संघ केन्द्रीय समिति

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक तीन महिने जनसबन्ध सुदृढ र बिस्तार गर्न “जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान २०८०” सञ्चालन गर्ने निर्णय गरि सम्पन्न भएको छ । बैठक राजनीतिक, संगठनात्मक योजना र केन्द्रीय सदस्यहरुले बैठकमा आलोचनात्मक चेतसहितको बिषय रखाइको हिसाबबाट ऐतिहासिक नै रह्यो ।

अध्यक्ष क.प्रचण्डले केन्द्रीय समितिको बैठकलाई उच्च जनवादको अभ्यास गर्ने थलोको रुपमा फेरि एकपटक दुनियाँको सामु स्थापित गराउँदै बैठकको अन्त्यमा असाधारण एकताकासाथ सबै नेताहरु अभियानमा लाग्ने निर्णयमा एकमत बनाए । साथै, बैठकमा आफ्ना बिषय राख्दै क.प्रचण्डले “जनताको बीचमा जाने, आम जनताको नेता हो; पार्टी सदस्य कार्यकर्ताबीच जाने नेता, पार्टी नेता हो । जनता र पार्टी पंक्ति बीच होमिनेहरू असली नेता हुन् । निर्मम आत्मसमीक्षा नगरी रुपान्तरण सम्भव छैन् भनेर कठोर आत्मसमीक्षाको निमित्त सबै नेतालाई आह्वान समेत गर्नुभयो ।

पार्टी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण कुरा बैचारिक राजनीतिकरुपमा स्पष्टता, कसिलो संगठनात्मक एकता र जनतासँग जोडिने कार्यक्रम हो । जुन माओवादी केन्द्रको पछिल्लो निर्णयले स्पष्ट बनाएको छ । जनतासँग माओवादी नेता कर्याकर्ता अन्तरक्रिया गर्न जाँदा जनताले व्यावहारिक स्पष्टता खोज्छन् त्यो हुन जरुरी छ । आजको युग डिजिटल युग हो । सबै मानिस सबैको बारेमा जानकार हुनको निमित्त भौतिक भेटघाट नै जरुरी हुँदैन । सामाजिक सञ्जाल र डिजिटल मिडियाबाट सूचना संकलन गरि धारणा निर्माण गरिसकेका हुन्छन् । त्यसखालको आजको समाजलाई सकारात्मक सोचमा बदल्न र संगठित गर्न विशेष खालको पहलकदमी जरुरी हुन्छ ।

अध्यक्ष क.प्रचण्डको विशेष रुपान्तरणको निमित्त निर्मम आत्मसमीक्षा भन्ने शब्दले पनि निर्मम आत्मसमीक्षा बिना माओवादी पार्टी र नेता कार्यकर्ता रुपान्तरण हुन नसक्ने कुरालाई संकेत गर्छ ।

माओवादी आन्दोलन पिँधमा पिल्सिएको बर्गलाई त्यस उत्पीडनबाट मुक्त गराएर राज्यसत्ताको पहुँचमा पुर्याउनका लागि थियो । राजनीतिक परिवर्तनका हिसाबले, कानुन संविधान निर्माणका हिसाबले ती उद्देश्य पूरा भएपनि जनताले व्यावहारिकरुपमा परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । जनतामा चरम निराशा छ । पछिल्लो समय प्रचण्ड सरकारले गरेको भ्रष्टाचार बिरोधी अभियानले जनतामा रहेको निराशाको तह केही घटे पनि पूर्ण बिश्वास भने जगाउन सकेको छैन् । अझै अविश्वास र निराशाको कालो बादल मडारिएकै छ । माओवादी जनताको घरदैलोमा पुगेर मात्र यो समस्याको समाधान हुन सक्दैन । जनताको प्रश्नको उत्तरसहित जनताको घरदैलो गर्ने हिम्मत मओवादीले गर्नुपर्छ ।

दश-पन्ध्र वर्ष अगाडिसम्म आफूजस्तै जस्तै लाग्ने माओवादी नेता कार्यकर्ताहरु आज कसरी आलिशान जीवन बिताइरहेका छन् । कुनै व्यापार व्यावसाय गरेको भए किन त्यसलाई सार्वजनिक नगरेको ? आजको समाजमा व्यावसाय गर्नु गलत कुरा होइन् । नेपाली समाजलाई उद्दमशील बनाएर मात्र नेपाललाई समृद्ध बनाउन सकिने तथ्यलाई मनन गर्न जरुरी छ । तर पुर्णकालीन राजनीति गर्ने नेता कार्यकर्ताको जीवनमा आएको अपत्यारिलो परिवर्तनलाई कसरी स्वभाविक मन्न सकिन्छ । पछिल्ला नकारात्मक घटनामा माओवादी नेताको नाम मुछिन्छ र त्यसको चित्तबुझ्दो जवाफ जनताले किन पाउँदैनन ? किन माओवादीको नेताहरुले आफ्नो आम्दानीको श्रोत जनतालाई बताउँदैनन् । यी र यस्तै हजारौं जनताको प्रश्नको उत्तर लिएर जनताकोमा जाने हिम्मत गर्नुपर्छ । नत्र श्रमजीवी नेपाली जनताको बिचमा जाँदा टक्टकाउँदो पोशाक र महँगो गाडीमा गएर दिएको घन्टौ लामो प्रवचन कसरी पत्याउन सक्छन जनताले ? माओवादी आन्दोलन र यसका नेता यी सबै गलत प्रवृत्तिको बिरुद्ध लडेर स्थापित शक्ति हो । त्यसैले पहिला माओवादीले पारदर्शी व्याव्हार र खुल्ला आचरण अनिवार्य बनाउने र गलत भए त्यसमा गल्ती अनुसार दण्डित तथा आत्मालोचित हुन जरुरी छ ।

प्रचण्ड सरकारको भ्रष्टाचार बिरोधी महाअभियानलाई जनस्तरमा पुर्याउनका निमित्त सिङ्गै पार्टी लाग्न जरुरी छ । यस महाअभियान जनस्तरसम्म पुर्याउनु पार्टीको महत्वपूर्ण काम हो । आजको सामाजिक चेतना सकारात्मकताभन्दा बढी नकारात्मक छ, त्यस कटु यथार्थलाई मनन गर्नुपर्छ र लार्क्याल लामाहरुको नियुक्ति विधिसम्मत नै भएपनि यसले सामाजिक चेतनामा नकारात्मक छाप पारेको यथार्थ नेतृत्वले बिर्सनु हुँदैन । यस्ता केही लार्क्यालहरुको नियुक्ति र पक्षपोषणले सिङ्गै प्रचण्ड सरकारको भ्रष्टाचारविरुद्धको महाअभियानलाई वध गर्नसक्छ । गम्भीर भएर सरकारले गन्तव्य तयगर्नु पर्ने देखिन्छ ।

खुल्ला र पारदर्शी व्याव्हार र आचरणसहित जनताको बीचमा माओवादी पार्टी पुग्नसके माओवादी आन्दोलन पुनःजगृत हुनेछ । जनताको बीचमा व्याप्त निराशा र कुण्ठाको समाप्त भई सकारात्मक विश्वास पैदा हुनेछ ।
पुष्पकमल दाहाल होइन, प्रचण्ड हेर्न चाहने हामी सबैले आफूलाई पुरानै सोच र आचरण अनुसारको पारदर्शी र निष्ठावान बनाउन जरुरी छ । क.प्रचण्डले सबै गर्दिनु पर्ने र त्यसकै छिनाझम्टीबाट आफ्नो चुलो पोल्नु पर्छ भन्ने सोच बदलौं । माओवादी नयाँ आन्दोलनको रुपमा उभिन सक्छ । जय होस !