आजदेखि जितिया पर्व सुरु, तीन दिनसम्म हर्षोल्लासका साथ मनाइने

२८ भदौ ०८२, काठमाडौं । तराई–मधेशका मैथिल र थारु समुदायका महिलाले आजदेखि जितिया पर्व मनाउन सुरु गरेका छन् ।

उनीहरुले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितियापर्व सुरु गरेका हुन् ।

योसँगै तराई–मधेशका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् ।

अघिल्ला वर्षहरुमा काठमाडौं उपत्यकामा बस्ने थारू समुदायले विविध कार्यक्रम गरेर यो पर्व मनाउने गरेकोमा यसवर्ष देशको पछिल्लो अवस्थालाई हेरेर उनीहरुले कुनै कार्यक्रम आयोजना गरेका छैनन् ।

तीन दिनसम्म मनाइने जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ ।