२७ भदौ ०८२, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विगठन गर्ने निर्णय गरेका छन् ।
आज शुक्रबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विगठन गर्न सिफारिस गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको विगठन र २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने भनी मिति सिफारिस गरिएकोमा राष्ट्रपति पौडेलले सदर गरेका छन् ।
यसैबीच नेकपा (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ति जारी गरेर संसद विघटनलाई संवैधानिक व्यवस्था विपरीत भनेको छ ।
पार्टीका उपाधयक्ष समेत रहेका प्रवक्ता अग्नी सापकोटाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको छ ।”















