६ बैशाख ०८०, काठमाडौं । आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
सरकारले बैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ र २०५६ बाट जुकाको औषधि खुवाउन थालिएको हो ।













