आज मगरहरूले ४३औं मगर दिवस मनाउँदै

१५ फागुन ०८१, तनहुँ । मगरहरुको साझा संस्था नेपाल मगर संघले देशभर विभिन्न कार्यक्रम गरेर ४३औं मगर दिवस मनाएको छ ।

हरेक वर्षको फागुन १५ गते झैं आज नेपाल मगर संघले देशभर विभिन्न कार्यक्रम गरेर मगर दिवस मनाएको हो ।

मगर दिवसको अवसरमा गुल्मीको तम्घासस्थित चिदिचौर परिसर सडकमै स्थानीय रैथाने खानाको स्वादको व्यवस्था गरिएको छ ।

नेपाल मगर महिला संघ गुल्मीले मगर विद्यार्थी संघसँगको सहकार्यमा गरिएको खाना महोत्सवमा स्थानीय जनजातिहरुको रैथाने खानाको स्वाद भेटिएको महोत्सवमा सहभागीहरुले बताएका छन् ।

आयोजकले भने मगर दिवसको अवसरमा स्थानीय भोजनलाई ‘खाना पर्यटन’का रुपमा प्रवद्र्धन गर्न साथै स्थानीय खानाको व्यापक प्रचारप्रसार गर्न ‘खाना महोत्सव’ आयोजना गरिएको जनाएको छ ।

महोत्सवमा विभिन्न लोपोन्मुख खाना र खाजाका परिकारहरुको स्टल राखिएको छ ।

यस्तै तनहुँको म्याग्दे गाउँपालिकाका मगरहरुले पनि मगर दिवस भव्यतापूर्वक मनाएको छ ।

नेपाल मगर संघ म्याग्देको आयोजनामा भएको मगर दिवस कार्यक्रममा स्थानीय मगरहरु आफ्नो पहिचान र संस्कृति झल्किने भेषभुषासहित सांस्कृतिक बाजा, नाचगान गरिएको मगर संघ म्याग्देले जानकारी दिएको छ ।

मगर समुदायमा रहेको विविधताबीच एकता कायम गर्न साथै मगरको भेषभुषा, भाषा, संस्कृतिबारे जानकारी दिने उद्देश्यले मगर दिवस मनाउन थालिएको मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य तिलक थापा ‘विशाल’ले जानकारी दिए ।

यस्तै मोर्चाका अर्का केन्द्रीय सदस्य होमबहादुर आले मगरले मगर संस्कृतिसँगै अहिलेका पिँढीलाई आफ्नो पहिचान र भेषभुषा, भाषा, संस्कृतिको महत्व बुझाउन समेत मगर दिवसको विशेष महत्व रहेको बताए ।