आज मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल फित्र पर्व मनाइदै

१८ चैत्र ०८१, काठमाडौं । आज मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल फित्र पर्व मनाइदैछ । सरकारले यस पर्वको अवसरमासार्वजनिक बिदासमेत दिएको छ ।

मुस्लिम समुदायले इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा इद उल फित्र मनाउने गर्दछन् ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ ।

इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू समावेश गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटको विशेष महत्व रहन्छ ।