आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख ०८२, काठमाडौं । सरकारले देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि (बैशाख ६ र ७ गते) ६ महिनादेखि ५ वर्ष उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरिएको हो । साथै, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइदैछ ।

स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ ।