आज २१०औं भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

२९ असार ०८०, काठमाडौं । आज भानु जयन्ती : देशभर विभिन्न कार्यक्रम गरेर २१०औं भानु जयन्ती मनाइँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् ।

‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका छन्,’ राष्ट्रपतिको सन्देशमा उल्लेख छ, ‘उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ । …भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो ।’

भानुभक्तको नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा योगदान अतुलनीय रहेको भन्दै राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भनुभक्तले रचनाको माध्यमले देशलाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेकाले भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक बनेको बताएका छन् ।

तनहुँको चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका भानुभक्तले सरल नेपाली भाषामा अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर नेपाली जनतालाई ठूलो गुन लगाएका छन् ।

एक सामान्य घाँसीले भानुभक्तलाई ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

यस्तै उनको अर्को प्रसिद्ध कृति ‘वधुशिक्षा’ हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृतिहरु रहेका छन् ।