आठ मार्च विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन

२४ फागुन ०८१, काठमाडौं । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अध्यक्ष प्रचण्डले समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप शुभकामना सन्देश जारी गरेका हुन् ।

आज बिहान अध्यक्ष प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले आठ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको पनि सन्देशमा उललेख गरेका छन् ।

‘यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको छ,’ सन्देशमा उल्लेख छ, ‘साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ । यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक संघर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ ।’

व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन नसकेको बताउँदै उनले सन्देशमा भनेका छन्, ‘राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरुपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाहरुको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव छैन । त्यसैले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरुपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न म सबैमा आह्वान गर्दछु ।’