आदिवासी जनजातिका भाषा डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी – दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा बिहीबार बसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “कृत्रिम बौद्धिकता (एआई) र प्रविधि प्रयोग गरेर आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई जोगाउन र विश्वभर चिनाउन सकिन्छ । उदाहरणका लागि, नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा छ – यो नै प्रविधिको सही प्रयोग हो ।”

उनले यो वर्षको विश्व आदिवासी दिवस आदिवासी समुदायको भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर मनाइँदै गरेको जानकारी पनि दिए ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ मा अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको बताए ।

कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । त्यस्तै, थारु कल्याणकारिणी सभा (थाकस) ले थारु परिकारहरू प्रदर्शन ग¥यो । थारु खानामा घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोलजस्ता परिकार प्रदर्शनमा राखेका थिए । थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका परिकार प्रस्तुत गरिएको थियो । साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए ।

राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।