२५ साउन ०८१, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् ।
कर फर्छ्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै विशेष अदालतले ९ वर्षका दरले गत ५ असार २०८० मा कैद सजाय हुने फैसला गरेको भएपनि शर्मा गत बुधबार मात्रै कारागारमा उपस्थित भएका हुन् ।
उनले कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।
कारागार स्रोतले भन्छ, ‘शर्मा बुधबार कारागारमा उपस्थित भएका हुन् । उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।’
बिगो र जरिवानावापतको रकम धरौटी राखेर मात्रै मुद्दामा पुनरावेदन गर्न पाइने व्यवस्था भएकोमा शर्माले करिब ६ अर्ब रुपैयाँ धरौटी राख्न नसकेपछि थुनामा बसेर पुनरावेदन गरेका हुन् ।
शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल विशेष अदालतबाट दोषी ठहर भएका थिए ।
विशेष अदालतबाट अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगको काम कारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो ।













