आन्दोलरत् जेन-जी पुस्तालाई वार्तामा आउन राष्ट्रपतिको अपिल

२४ भदौ ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत् जेन-जी पुस्तालाई अपिल गरेका छन् ।

राष्ट्रपतिले पौडेलले जेनजीलाई संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन अपिल गरेका हुन् ।

राष्ट्रपतिले भनेका छन्, ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेन-जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु ।’

आजै प्रधानमन्त्री केपी शर्माले ओलीले पदबाट संविधानको धारा ७७ (१) क बमोजिम राजीनामा दिएका छन् भने उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरिसकेका छन् ।

जेन-जी आन्दोलनकारीहरूले राज्यको तीनवटै अंग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका)लाई आफ्नो नियन्त्रणमा लिएका छन् । संसद भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा समेत आगो लगाइदिएका छन् ।

उनीहरुले शितल निवास, विशेष अदालत, काठमाडौं जिल्ला अदालत, प्रमुख राजनीतिक दलका नेताहरुको निजी निवास, पार्टी कार्यालय साथै प्रहरी चौकी र पोष्टहरुमा समेत आगजनी र तोडफोड गरेका छन् ।

सरकारले सामाजिक सञ्जाल निश्क्रिय गरेसँगै सो सञ्चालन गर्नुपर्ने भन्दै भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका जेन-जीहरूमाथि सरकारले दमन गर्दा प्रहरीको गोली लागेर १९ जना युवाको  भाद्र २३ गते सोमबार मृत्यु भएपछि आज स्थिति पूर्णरुपमा नियन्त्रणबाहिर गएको हो ।

आज मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको गोली लागेर ज्यान गएको छ । यो सँगै मृतकको संख्या २१ पुगेको छ ।

यस्तै मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका छन् ।