२० असार ०८२, बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको सक्रियता, योगदान र मातृभूमिप्रतिको सम्बन्धलाई सशक्त बनाउनु पर्ने बताएका छन् ।
बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालीहरूलाई स्वदेश फर्केर आफ्नो सीप, श्रम र पुँजी देशको विकासमा लगाउन आग्रह पनि गरे ।
उनले भने, ‘देश तपाईंहरूको पर्खाइमा छ, जे आर्जन गर्नु छ स्वदेशमै गरौं, चाँडै फर्किनुहोस् । सरकार सहकार्य गर्न तयार छ ।’
प्रधानमन्त्री ओलीले एक प्रसङ्गमा पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको बताए ।
‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन्,’ उनले भने ।













